काठमाण्डौ । इजरायलमा रहेको नेपाली राजदूतावासले आफ्नो सुरक्षाको ख्याल राख्ने र स्थानीय निकायको निर्देशन पालना गर्न नेपाली समुदायमा आग्रह गरेको छ ।
इजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा अहिले द्वन्द्व चलिरहेको भन्दै राजदूतावासले यस्तो आग्रह गरेको हो । ‘यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन नेपाली समुदायमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।
अप्ठ्यारोमा परेका नेपालीको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको राजदूतावासले जनाएको छ ।
अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै राजदूतावासले यसको नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा केही सामग्री साझा नगर्न पनि आग्रह गरेको छ ।
सम्बन्धित समाचार….
प्यलेस्टाईनले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर नौ जना घाइते भएका र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलको नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।
नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ । दूतावासले स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षा उपायहरू पालना गर्न अनुरोध गरेको छ ।
नेपाल सरकारले इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गरेको छ । इजरायलका नागरिक र सरकारका साथै यस निर्मम हमलाका पीडितहरू साथै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरिएको मन्त्रालयले जनाएको छ ।
हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाले दाबी गरेको छ ।
फोक्सुण्डो खबर । २० आश्विन २०८०, शनिबार