डिजिटल प्रतिस्पर्धा हुदा छापा माध्यम ढिलोचाँडो इतिहास बन्नेछ- लेखनाथ पाण्डे 

२०२२ मा गुगलले करिब २२५ अर्ब डलर विज्ञापनबापत प्राप्त गर्यो, जुन दशक अघि ५१ अर्ब डलर थियो । २०२१ मा गुगलसहित पाँच ठूला प्रविधि कम्पनीहरु— मेटा, अलिबाबा, बाइटडान्स र अमेजनको विश्व विज्ञापन बजारमा ५३ प्रतिशत हिस्सा थियो ।

मूलतः विज्ञापनमा आश्रित छापा तथा विद्युतीय माध्यममा विज्ञापन खडेरी छ । जसले सामग्री उत्पादन गर्छ, उसले विज्ञापन पाइरहेको छैन, तर जसले सामग्री उत्पादन गर्दैनन्, अरुका सामग्री प्रविधिको साहयताले आमउपभोक्तासम्म द्रुत रुपमा पुरउँछन्, तिनले अकुत कमाइरहेका छन् ।

अर्थात्, परिश्रम गर्ने पत्रकारिता व्यवसाय छ, अर्थोपार्जन भने मुठ्ठीभर “बिचौलिया” प्रविधि कम्पनी छन्, तिनले स्वयं सामग्री उत्पादन गर्दैनन् । बरु, अरुले नै उत्पादन गरेका सामग्री तिनका कराडौं, अर्बौं प्रयोगकर्तासम्म पुर्याएर डलर छापिरहेका छन् ।

आज पनि परम्परागत छापा तथा विद्युतिय माध्यमको ‘कन्टेन्ट’ उत्पादनमा अहम भूमिका र भविष्य छ । तर, ‘कन्टेन्ट’ वितरणमा तिनको भूमिका शून्यप्रायः भइसक्यो । उक्त भूमिका सिमित प्रविधि कम्पनीको कब्जामा पुगेको छ ।

हिजोआज कुनै स्थानीय अखबारको प्रतिस्पर्धा अर्को प्रतिस्पर्धी स्थानीय अखबार, रेडियो, टिभी वा समाचार पोर्टलसँग हुँदैन, न हुन्छ बहुराष्ट्रिय बीबीसी, सिएनएन वा अलजजिरासँग । बरु, ‘कन्टेन्ट’ वितरण तथा विज्ञापनका लागि तिनको प्रत्यक्ष प्रतिस्पर्धा दशौं खर्ब डलर बजार पूँजीकरण भएका प्रविधि ‘जायन्ट’हरुसँग भइरहेको छ । हात्ती र बाख्राबीचको प्रतिस्पर्धामा पत्रकारिता व्यवसाय कसरी टिक्छ ?

छापाले रेडियो र टेलिभिजन आउँदा पनि चुनौति झेलेको हो । तर रेडियो वा टिभीले ‘कन्टेन्ट’ वितरणमा छापाको हिस्सा र सामथ्र्य खोस्न सकेनन् । त्यसैले छापा, रेडियो र टिभीको सहअस्तित्व कायम रह्यो । अहिले, पत्रकारिताको मुख्य चुनौति भनेकै ‘कन्टेन्ट’ वितरणमा तिनको भूमिका नगन्य हुनु हो । यसमा प्रभावकारी हस्तक्षेप गर्ने उपाय पत्ता लागाउन सके पत्रकारिता व्यवसाय अझै प्रभावकारी रहनसक्छ । एआइ त्यसका लागि एक बरदान बन्न सक्छ । अन्यथा, प्रविधिको प्रलयका कारण परम्परागत पत्रकारिता र विशेषगरी छापा माध्यम ढिलोचाँडो इतिहास बन्नेछ ।

लेखक- लेखनाथ पाण्डे

तपाईको प्रतिक्रिया