डाेल्पामा शव वहानकाे आवश्यकता, शव वहान सेवा नहुँदा नागरिकलाई समस्या

लेख बुढा,
डाेल्पा  । डाेल्पामा शव वहानकाे आवश्यकता देखिएको छ। जिल्लामा एउटा पनि शव वहान नहुँदा नागरिकलाई समस्या हुने गरेको गुनासो आउन थालेको छ । जिल्लामा शव बहान नहुँदा  एम्बुलेन्स र यात्रु बोक्ने जीपमै मृत लास बोक्नुपर्ने बाध्यता रहेको डाेल्पा सडक खण्डका सवारी चालक शान्त प्रसाद राेकायाले बताए । चालक राेकायाले फाेक्सुण्डाे खबर संग भने” सडक सञ्जालले छाेएर सडक व्यवस्थीत हुदैछ। यहाँ एम्बुलेन्स त छन तर अब शव बहानकाे पनि आवश्यक रहेको छ। जीपमा लास बाेकेकाे थाहा पाए यात्रु चढ्न मान्दैनन् तर के गर्नु मानवीयताको कारण पनि शव बोक्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

डाेल्पाकाे ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिकामा सडक सञ्जाल जाेडिसकेकाे छ भने मुड्केचुला लगाएत अन्य पालिकामा निर्माणकार्य भैरहेको छ।

जिल्लामा विभिन्न दुर्घटना तथा प्राकृतिक विपत्तिका कारणले मृत्यु भएका व्यक्तिको शव घटनास्थलबाट पाेष्टमार्टम गर्न अस्पताल तथा अस्पतालबाट घरसम्म लैजान समस्या हुने गरेको छ । शव बोक्न एम्बुलेन्स वा जीप प्रयोग भएपछि त्यसमा बिरामी चढ्न नमान्ने, डराउने अवस्था रहेको छ। अर्को कुरा के भने शव सम्बन्धित ठाउँमा लिनकाे लागि चर्काे मूल्य तिर्नुपर्ने बाध्यता रहेकाे छ ।

डाेल्पामा हाल सम्म जिल्ला अस्पताल दुनैमा मात्र पोष्टमार्टम घर रहेकाे छ । जिल्लाका जुनसुकै ठाउँमा विभिन्न कारणवश मृत्यु भएका शव पोष्टमार्टमकाे लागि दुनैमा ल्याउनु पर्छ। जिल्ला अस्पताल दुनैबाट हाल बार्षिक रुपमा ५ देखि १० वटा सम्म शव पोष्टमार्टम हुने गरेकाे जिल्ला अस्पताल दुनैका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताए । जिल्ला भित्रैका शब पाेष्टमार्टम गर्नकाे लागि अस्पताल सम्म ल्याउन र जिल्ला बाहिरका शव सम्बन्धित ठाउँमा लिन समस्या देखिएकाे डाक्टर उपाध्यायले बताए । जीप र एम्बुलेन्सले सकेसम्म शव बाेक्न नहुने तर पनि केही उपाय नलागेकाे खण्डमा नागरिकले महंगो शुल्क तिरेर भएपनि शव बाेकाउने बाध्यता देखिएको उनले बताए । जिल्लामा पहुँच बाहिर रहेका नागरिकका लागि एउटा मात्र भएपनि शव वहानकाे आवश्यकता रहेकाे डाक्टर उपाध्यायले बताए ।

तथ्यांकअनुसार स्वास्थ्य सेवा कार्यालयमा दुई वटा एम्बुलेन्स मध्य एउटा संचालनमा रहेकाे छ। यस्तै ठुलीभेरी नगरपालिकामा एउटा , त्रिपुरासुन्दरी नगरपालिकामा एउटा, मुड्केचुला गाउँपालिकामा एउटा, जगदुल्ला गाउँपालिकामा एउटा एम्बुलेन्स संचालनमा रहेकाे छ । शव वहान भने जिल्लामा नै छैन।

तपाईको प्रतिक्रिया