विष्णुप्रसाद देवकोटा,
डोल्पा । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य मानिने शुलिगाढ फोक्सुण्डो पर्यटन पदमार्ग पछिल्लो समय फोहोर व्यवस्थापन र संरक्षण अभावका कारण गम्भीर संकटमा परेको छ। पदमार्ग, बस्ती र ताल किनारमा थुप्रिँदै गएको फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी भने सरकारी संयन्त्र होइन, स्थानीय अभियन्ताको काँधमा सीमित देखिएको छ।
ठूलीभेरी नगरपालिका–८ का पर्यटन अभियन्ता तथा पर्यटक गाइड सुबर्ण कुमार डाँगीको अगुवाइमा सञ्चालन गरिएको साप्ताहिक सरसफाइ अभियान अन्तर्गत हालसम्म करिब ५०० केजी फोहोर संकलन गरिएको छ। संकलित फोहोर खच्चडमार्फत शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय रहेको सुलिगाढसम्म ढुवानी गरिएको उनले जानकारी दिए।
उनका अनुसार फोक्सुण्डो ताल बस्ती, साइजेल, रेची बस्ती तथा पर्यटन पदमार्ग आसपास संकलन गरिएको ५०० केजि फोहोर सुलिगाढ पुर्याउने थप तयारी भइरहेको छ। तर यस्तो अभियानमा राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती उपभोक्ता समितिहरु विश्व वन्यजन्तु कोष, सम्बन्धित वडा कार्यालय तथा स्थानीय तहको संस्थागत सहभागिता न्यून देखिएको छ।
स्थानीय सरोकारवालाहरूले उठाएको अर्को गम्भीर प्रश्न निकुञ्ज कार्यालय र त्यस मातहत साझेदारीमा काम गरिरहेका विश्ववन्यजन्तु कोष नेपाल (WWF) को भूमिकासँग जोडिएको छ।वर्षेनी तालिम, गोष्ठी र कागजी प्रतिवेदनमै केन्द्रित कार्यक्रममार्फत बजेट खर्च गरिए पनि प्रत्यक्ष उपलब्धि देखिँदैन पर्यटक गाइड डांगीकाे भनाई छ ।डांगीले निकुञ्ज र डब्लु डब्लुएफकाे नैतिक तथा नीतिगत सहयाेग र समर्थन बाहेक अन्य सहयाेग नरहेकाे बताए ।
परिणामस्वरूप, चोरीशिकारी, जथाभावी जडिबुटी उत्खनन् तथा पैठारी, वन क्षेत्रमा डढेलो लगाउने कार्यमा न त प्रभावकारी नियन्त्रण भएको छ, न त न्यूनिकरण। संरक्षणका नाममा भइरहेका गतिविधि व्यवहारमा कमजोर हुँदा निकुञ्ज क्षेत्रभित्रै जैविक विविधता र पर्यावरण जोखिममा परेको स्थानीयको भनाइ छ।
अझ विडम्बनापूर्ण पक्ष के छ भने, जेठ महिनामा यार्सागुम्बा संकलन सुरु हुनेबित्तिकै प्रवेश शुल्क असुलीमा तछाडमछाड देखिने निकायहरू, त्यसअघि र त्यसपछि पर्यटकीय पदमार्ग र ताल क्षेत्रको फोहोर, संरक्षण र व्यवस्थापनप्रति मौन रहने प्रवृत्ति देखिन्छ।शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज सुलिगाड डाेल्पाका संरक्षण अधिकृत नुरेन्द्र अर्यालले आफुहरुसंग फाेहाेर ब्यवस्थापनका लागि बजेट नभएकाले कार्यक्रम पनि भएकाे र आगामी बर्षबाट फाेहाेर ब्यवस्थापनकाे लागि आवश्यक बजेट कार्यक्रम विनियोजन सहयाेग गरिदिन साझेदारी संस्था विश्ववन्यजन्तु काेष नेपाललाई आग्रह गरिएकाे बताए ।जथाभावी फाेहाेर र ब्यवस्थापन नहुदा
यसको प्रत्यक्ष असर फोक्सुण्डो ताल किनार र पदमार्ग आसपास सिसी बोतल, टिनका बट्टा र प्लास्टिक खोलानालामा फ्याँकिनुका रूपमा देखिएको छ, जसले क्षेत्रको प्राकृतिक सौन्दर्य मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकीय छविमाथि समेत नकारात्मक प्रभाव पारिरहेको छ।
स्थानीय अभियन्ता र पर्यटक गाइडहरूको पहलले याे वर्षबाट फाेहाेर संकलन र ब्यवस्थापन कार्य शुरु भएकाे छ ।संरक्षण साझेदारी कागजमा होइन, भूमिमा देखिनुपर्ने सन्देश पर्यककाे अभियानले दिन खाेजेकाे छ ।
पर्यटनको नाममा शुल्क उठाउने मात्रै होइन, फोहोर व्यवस्थापन, जैविक संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा साझा जिम्मेवारी वहन नगरेसम्म शे–फोक्सुण्डो जस्तो विश्वप्रसिद्ध गन्तव्य जोखिममा पर्ने निश्चित देखिन्छ।

फोक्सुण्डो खबर । ६ पुष २०८२, आईतवार