डाेल्पा । जिल्ला स्वास्थ्य कार्यालय डाेल्पाकाे आयाेजनामा औषधीकाे उचित प्रयाेग र एन्टीमाइक्राेबियल प्रतिरोधी (AMR) गतिविधि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ। जिल्लाका विभिन्न सराेकारवाला निकायका प्रतिनिधिहरुकाे सहभागी रहेकाे अभिमुखीकरण कार्यक्रममा जिल्ला अस्पताल डाेल्पाका मेडिकल अधिकृत डाक्टर अजय प्रसाद पाण्डेले औषधीकाे उचित प्रयाेग र एन्टीमाइक्राेबियल प्रतिरोधी ( AMR) गतिविधि बारे जानकारी गराएका थिए ।
जिल्ला स्थित सरकारी र निजि विधालयका प्रधानाध्यापक तथा शिक्षक, मेडिकल व्यवसायीहरु, क्याम्पस प्रमुख लगाएत स्वास्थ्यकर्मीहरुलाई औषधीकाे उचित प्रयाेग, औषधीकाे समुचित प्रयाेगकाे लागि रणनीति, औषधीकाे समुचित प्रयाेगकाे लागि राष्ट्रिय नीति, नेपालमा औषधीकाे अवस्था, जैविक औषधीकाे प्रयोगकाे जानकारी गराइएको छ।
यस्तै अभिमुखीकरण कार्यक्रममा औषधी पशु पंक्षीमा प्रयाेग गर्दा पर्ने असर , जैविक प्रतिराेधकाे प्रभाव, राेकथाम तथा नियन्त्रण, नीति निर्माणको भुमिका, औषधी व्यवसायी र स्वास्थ्यकर्मीकाे भुमिका, कानुनी व्यवस्था, जथाभावी औषधी प्रयाेगकाे चुनाैती लगाएतका विषयमा जानकारी गराइएको छ।
औषधी ऐन २०३५ अनुसार जथाभावी औषधी विक्रि वितरण गरि ज्यानलाइ खतरा पुग्ने संभावना भएमा जन्म कैद वा ११ बर्ष कैद र जरीवाना हुने कानुनी व्यवस्था रहेकाे छ।
चिकित्सकका अनुसार डाेल्पामा जस्तो सुकै विरामी भएपनि सुरुमा सुई लगाएपछि संचाे हुन्छ भन्ने स्थानीयकाे गलत साेचाई बुझाइ हुने गरेकाे बताईएकाे छ। सुरुमै कडा औषधी प्रयाेग नगर्न र मान्छेले प्रयाेग गर्ने औषधी पशु पंक्षीलाई प्रयाेग गर्न नदिन चिकित्सकले आग्रह गरेका छन ।
अभिमुखीकरण कार्यक्रममा सिकेका स्वास्थ्यका महत्त्वपूर्ण ज्ञान शैक्षिक संस्थाहरुमा विधार्थीहरुलाई जानकारी गराउन सहज हुने बाल मन्दिर आधारभूत विधालय दुनैकी प्रधानाध्यापक अम्बिका हमाल, दुनै बाेर्डिङ स्कुलका प्रिन्सिपल लाेकेन्द्र जैसी र डाेल्पाे क्याम्पसका प्रमुख बिष्णुलाल बुढाले बताए ।
चिकित्सकका सल्लाह विना जथाभावी औषधीकाे प्रयाेग नगर्न स्वास्थ्य सेवा कार्यालय डाेल्पाका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर सिजन रावलले आग्रह गरेका छन। सबै नागरिकलाई स्वास्थ्य विमामा आवद्व हुन पनि डाक्टर रावलले आग्रह गरेका छन।
फोक्सुण्डो खबर । २७ असार २०८२, शुक्रबार