विष्णुप्रसाद देवकोटा,
डोल्पा । डोल्पाको सदरमुकाम दुनैबजारमा ठुलिभेरी नगरपालिका न्यायिक समितिको नेतृत्वमा असार ३० र ३१ गते गरी दुईदिने बजार अनुगमन सम्पन्न भएको छ। उपप्रमुख तथा न्यायिक समिति संयोजक छिरिङ टोल्मा महतको संयोजनमा गरिएको अनुगमनमा म्याद गुर्जेका २५ प्रकारका दैनिक उपभोग्य सामग्री बरामद गरी नष्ट गरिएको हो।
अनुगमन टोलीले चाउचाउ, फ्रुटी, ललिपप, ट्याङ, चोकोपन, स्याम्पु, नम्किन, डबलस्टिक, दालमोठ, आँप, प्रावनलगायतका उपभोग्य वस्तुहरू संकलन गरी करिब ६५ हजार रुपैयाँ मूल्य बराबरका सामग्री नष्ट गरेको जनाएको छ।अनुगमन कार्यमा ठुलिभेरी नगरपालिका–३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य विष्णुप्रसाद देवकोटा, तथा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरू पनि सहभागी थिए।
नगर प्रहरी प्रमुख उत्तमबहादुर रोकायाको नेतृत्वमा अनुगमन टोलीमा नगरप्रहरीहरु, न्यायिक समिति कार्यालयकी गीता महत बुढा, कम्प्युटर अपरेटर सर्मिला महत सहितको सक्रिय सहभागिता रहेको थियो।
बरामद गरिएका म्याद गुर्जेका सामग्रीहरू दुनैबजार नजिकैको लामालोटे क्षेत्र हुँदै भेरी नदीको किनारमा लगेर सुरक्षित रूपमा जलाइ नष्ट गरिएको थियो।
ठुलिभेरी नगरपालिकाले उपभोक्ताको स्वास्थ्य र उपभोग्य वस्तुको गुणस्तर सुनिश्चित गर्न यस्ता अनुगमन कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गर्दै आइरहेको छ।
फोक्सुण्डो खबर । ३१ असार २०८२, मंगलवार