डाेल्पाकाे प्रसिद्ध बाला त्रिपुरासुन्दरी मन्दिरकाे भण्डार कक्षमा आगलागी

बिष्णुप्रसाद देवकोटा,

डाेल्पा। डाेल्पाकाे त्रिपुराकाेटस्थित प्रसिद्ध श्रीवालात्रिपुरासुन्दरी याेगमाया भगवती मन्दिरकाे भण्डार कक्षमा आगलागी भएकाे छ । असोज २५ गते अपरान्ह मन्दिरमा भगवान् शिवकाे रुद्रिपुजाकाे तयारी भइरहेकाे समयमा हलुवा लगायतका प्रसाद बनाउने क्रममा आगलागी भएकाे पुजारी टंकप्रसाद उपाध्यायले जानकारी दिए ।


भण्डारेका अनुसार, हलुवा पकाउनका लागि १५ पाेका तेल ठुलाे भाँडामा अगेनामा तताउँदै भण्डार कक्ष बाहिर निस्किएका बेला आगाकाे लनप्काले भेटेर आगलागी सुरु भएकाे हाे । घटनाबाट मन्दिरकाे भण्डार कक्षकाे झ्याल, ढाेका र काठकाे संरचना जलेर क्षति पुगेकाे छ ।भण्डार कक्ष मन्दिरकाे मुल मन्दिरभन्दा पश्चिम पछाडि भागमा छुट्टै रहेकाे छ ।आगलागी पछि मन्दिरमा सुरक्षार्थ रहेका नेपाल प्रहरी भण्डारे र पुजारी सहितले पानीले आगाे नियन्त्रणमा लिएका थिए ।

मन्दिरमा पुजाआजाका क्रममा साना दुर्घटना कहिलेकाहीँ हुने गरेपनि यस्ताे ठुलाे घटना भएकाे भने यो पहिलो पटक हो ।केही जानकारहरूले धार्मिकस्थलमा यस्ता आकस्मिक घटनाहरू देशमा अनिष्ट वा व्यवस्था परिवर्तनकाे संकेतका रूपमा पनि हेरिने बताएका छन् ।

तपाईको प्रतिक्रिया