डाेल्पाकाे ठुलिभेरीमा किशोरी सशक्तिकरण परियोजना अन्तरगत यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न

डाेल्पा । डाेल्पाकाे ठुलिभेरी नगरपालिकामा समाज जागरण केन्द्र (SAC Nepal) र ठुलिभेरी नगरपालिकाको संयुक्त आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य मेला भव्य रूपमा सम्पन्न भएको छ। BMZ को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल र SAC Nepal को सञ्चालनमा रहेको किशोरी सशक्तिकरण परियोजना अन्तर्गत आयोजना गरिएको यस मेलाले नगरपालिका भित्रका विद्यालयहरूमा किशोर–किशोरीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यलाई थप मजबुत बनाएको छ।

ठुलीभेरी नगर प्रमुख स्ववर्ण कुमार बुढाको अध्यक्षतामा सम्पन्न मेलामा ४ वटा माध्यमिक विद्यालय र एक आधारभूत विद्यालयका विद्यार्थीहरूको सहभागिता जनाएका थिए । यौन तथा प्रजनन स्वास्थ्य मेलामा आदर्श माध्यमिक विद्यालय जुफाल, सरस्वती माध्यमिक विद्यालय दुनै , विद्यामन्दिर माध्यमिक विद्यालय माझफाल, लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ र  शुभकामना माध्यमिक विद्यालय रहका विद्यार्थीहरूले विभिन्न जनचेतनामूलक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । मेलामा करिब ३ सय भन्दा बढी विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सहभागी बालबालिकाहरूले यौन तथा प्रजनन स्वास्थ्य, महिनावारी, लैङ्गिक हिंसा, बालविवाह तथा अन्य सामाजिक विकृतिहरू विरुद्ध जनचेतनामूलक नाटक, नृत्य, कविता तथा गीत प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूले समाजमा विद्यमान समस्याहरूलाई उजागर गर्दै किशोर–किशोरीहरूको आवाजलाई बलियो बनाउने काम गरेका थिए।

मेलामा जुफाल स्वास्थ्य चौकीबाट हेल्थ हेल्प डेस्कको व्यवस्था गरिएको थियो। जसले सहभागीहरूलाई स्वास्थ्यसम्बन्धी जानकारी तथा सहयोग प्रदान गरेकाे थियाे। यसले विद्यार्थीहरूलाई मात्र नभई अभिभावक तथा समुदायलाई समेत यौन तथा प्रजनन स्वास्थ्यबारे सचेत बनाउने अवसर प्रदान गरेकाे छ।

प्रतियोगितात्मक प्रस्तुतिहरूमा नाटक, नृत्य, कविता तथा गीततर्फ छुट्टाछुट्टै विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त विद्यालयलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो। यसले विद्यार्थीहरूलाई सिर्जनात्मकता प्रदर्शन गर्ने अवसर मात्र दिएन, उनीहरूलाई सामाजिक मुद्दामा सक्रिय भूमिका खेल्न प्रेरित पनि गर्‍यो।

आयोजकहरूले यस मेलाले किशोर–किशोरीहरूको क्षमता विकास गर्दै विद्यालय तथा स्वास्थ्य संस्थामा किशोर किशाेरी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यलाई थप मजबुत बनाएको बताएका छन्। साथै, यस किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक सोच र व्यवहार परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

यसरी सम्पन्न यौन तथा प्रजनन स्वास्थ्य मेलाले किशोर–किशोरीहरूको नेतृत्व, सिर्जनात्मकता र सामाजिक चेतनालाई उजागर गर्दै ठुलिभेरि नगरपालिकामा किशोरी सशक्तिकरण परियोजनाको प्रभावकारीता प्रमाणित गरेको ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए ।

तपाईको प्रतिक्रिया