स्याक नेपालद्वारा डाेल्पाकाे लक्ष्मी माविमा अपाङ्ग तथा बालमैत्री शौचालय निर्माण गरि हस्तान्तरण

डाेल्पा । किशोरी सशक्तीकरण परियोजना अन्तर्गत डोल्पाको ठूलिभेरी नगरपालिका–६ थरगाउँस्थित लक्ष्मी माध्यमिक विद्यालयमा बाल, किशोरी तथा अपाङ्गमैत्री तीन कोठे सुविधासम्पन्न शौचालय निर्माण सम्पन्न भएको छ। नवनिर्मित शौचालयको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले एक कार्यक्रमका बीच उद्घाटन गरी विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल (समाज जागरण केन्द्र)को आर्थिक तथा प्राविधिक सहयोगमा डोल्पा हिराचन कन्स्ट्रक्सन प्रालि, ठूलिभेरी नगरपालिका–डोल्पाद्वारा निर्माण गरिएको उक्त शौचालय २० लाख ४१ हजार ७१४ रुपैयाँको लागतमा सम्पन्न गरिएको हो। परियोजनाले विद्यालयमा सुरक्षित, समावेशी र लैङ्गिक संवेदनशील शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्यामबहादुर रोकायाले कुनै पनि योजना निर्माण गरेर मात्र पर्याप्त नहुने उल्लेख गर्दै यसको दीर्घकालीन संरक्षण, व्यवस्थापन र सदुपयोगका लागि समुदायमा अपनत्वको भावना जागृत हुनु आवश्यक रहेको बताए। उनले विद्यालयभित्र निर्माण हुने भौतिक संरचनाको संरक्षणमा अभिभावक, शिक्षक–शिक्षिका, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति (विव्यस) सबै सचेत र जिम्मेवार भई ‘हाम्रो विद्यालय, हाम्रो दायित्व’ भन्ने भावनाका साथ अघि बढ्न आग्रह गरे।

शिक्षाको गुणस्तरीय सुधारमा शिक्षक–शिक्षिकाको भूमिका निर्णायक हुने उल्लेख गर्दै समन्वय प्रमुख रोकायाले भविष्यका कर्णधार बालबालिकालाई सक्षम, सीपयुक्त र प्रतिस्पर्धी बनाउने जिम्मेवारी गुरुआमाहरूको हातमा निहित रहेको बताए। विद्यालयमा उपलब्ध शैक्षिक सामग्री, उपकरण तथा प्रविधिको समयसापेक्ष र प्रभावकारी सदुपयोगमार्फत आधुनिक युगअनुकूल जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो।

भौतिक निर्माण सहयोगी संस्था प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि सन्तोष पुलामीले संरचना निर्माण मात्रै ठूलो उपलब्धि नभई त्यसको संरक्षण, प्रवर्द्धन र नियमित प्रयोग अझ महत्वपूर्ण हुने बताए। उनले जिल्लाका आठै स्थानीय तहमा शैक्षिक उन्नयन र गुणस्तर सुदृढीकरणका कार्यक्रम सञ्चालन गरिसकिएको उल्लेख गर्दै सन् २०१४ देखि २०२१ सम्म डिजिटलाइज्ड शिक्षालाई प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिए। किशोरी सशक्तीकरण परियोजना अन्तर्गत डोल्पाका त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकाका विद्यालयमा कार्यक्रम सञ्चालनमा रहेको पनि उनले बताए।

परियोजनामार्फत किशोरी महिनावारी आराम कक्षा व्यवस्थापन, बाल तथा अपाङ्गमैत्री शौचालय निर्माणजस्ता पहलले किशोरी अवस्थाका छात्राहरू महिनावारीकै कारण विद्यालय छाड्नुपर्ने बाध्यता घटाउन सहयोग पुग्ने पुलामीको भनाइ थियो। यसले विद्यालयमा सुरक्षित, मर्यादित र आत्मसम्मानयुक्त वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई डोल्पाका प्रमुख डाइमण्ड पुनले विद्यालयमा उपलब्ध स्रोत–साधनको समुचित प्रयोगमा जोड दिए। अनुगमनका क्रममा बालबालिका कर्नर कक्षा, किशोरी महिनावारी आराम कक्षा, ई–लाइब्रेरी तथा विज्ञान प्रयोगशालाजस्ता संरचना अवलोकन गर्ने अवसर पाएको उल्लेख गर्दै व्यवस्थापनअनुसार पूर्ण सदुपयोग हुन नसकेकोतर्फ विद्यालय परिवारको ध्यानाकर्षण गराए।

विद्यालयका प्रधानाध्यापक गगनसिं बुढाले विभिन्न शैक्षिक कालखण्ड पार गर्दै लक्ष्मी माध्यमिक विद्यालय आजको अवस्थासम्म आइपुग्न सकेकोमा स्थायी अभिभावक, विद्यालय परिवार र समुदायको निरन्तर प्रयासको महत्वपूर्ण योगदान रहेको बताए। विव्यस अध्यक्ष हरिप्रसाद रोकायाले नवनिर्मित शौचालय हस्तान्तरण ग्रहण गर्दै प्लान इन्टरनेशनल नेपाल र स्याक नेपालको सहयोग विद्यालय परिवार र स्थानीय समुदायले कहिल्यै नबिर्सने उल्लेख गरे। उनले संरचनाको संरक्षण र प्रवर्द्धनमा निरन्तर प्रयास रहने प्रतिबद्धता व्यक्त गरे।

तीन कोठे सर्वपक्षमैत्री शौचालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विद्यालयका विद्यार्थी र स्थानीय आमा समूहद्वारा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय सदस्य शान्तराम राेकाया जिल्ला प्रशासन कार्यालयका सुब्बा अक्कलबहादुर बडुवाल, स्याकका विनय कुमार थारु, विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, विव्यस पदाधिकारी, अभिभावक, स्थानीय बुद्धिजीवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

किशोरीमैत्री पूर्वाधार विस्तारसँगै लक्ष्मी माध्यमिक विद्यालयमा समावेशी, सुरक्षित र गुणस्तरीय शिक्षाको आधार थप सुदृढ हुने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया